काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध दायर मुद्दासम्बन्धी बयान आज (बिहीबार) काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश खेमराज भट्टको इजलासमा पाठकको बयान प्रक्रिया अघि बढाइएको हो।
पाठक आज बिहान ९ बजे अदालत पुगेका थिए। बयानपछि थुनछेकसम्बन्धी बहस हुने अदालत स्रोतले जनाएको छ।
गत असार १६ गते साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरेको थियो। साइबर ब्यूरोमा परेको जाहेरी नम्बर ५९ का आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले ऐनको दफा ४७ बमोजिम विद्युतीय माध्यम प्रयोग गरी गैरकानुनी सामग्री प्रकाशन गरेको आरोपमा मुद्दा दायर गरेको हो।
सरकारी पक्षले पाठकलाई एक लाख रुपैयाँ जरिवाना, पाँच वर्षसम्मको कैद वा दुवै सजायको माग गर्दै अभियोजन दर्ता गरेको छ।
हाल अदालतमा बयानको प्रक्रिया जारी रहेको छ भने त्यसपछि थुनछेक बहसबाट पाठकको अग्रिम अवस्था तय गरिनेछ।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया