काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठकमा अर्का केन्द्रीय सदस्य मोहन बस्नेतले दिएका अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष प्रश्न गरेका छन्।

बिहीबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै शिवाकोटीले बुधबार बस्नेतले महामन्त्री गगन थापालाई लक्षित गर्दै व्यक्त गरेको टिप्पणी हिंसात्मक र अराजक भएको बताए। “सभापतिज्यू, के हामी टुलुटुलु हेरिरहने ? बस्नेतज्यूले ठूला तिघ्रा र पाखुरा देखाउँदै, ‘ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला’ जस्ता चेतावनीपूर्ण भाषा प्रयोग गर्नुभयो। अब दुब्ला–पातला कार्यकर्ता राजनीतिबाट पलायन हुनुपर्ने हो ?” उनले प्रश्न गरे।

advertisement

शिवाकोटीले बस्नेतको शैलीलाई ‘मल्लयुद्धको मैदानमा उत्रिएसरह’ भएको भन्दै कांग्रेसको राजनीतिक संस्कृति र परम्पराविपरीत रहेको जिकिर गरे। “के कांग्रेस बाहुबलमा चल्ने संस्था हो ? भोलि कोही उठेर सभापतिविरुद्ध यस्तै अभिव्यक्ति दिन्छ भने त्यसको पनि कुनै सीमा रहनेछ कि रहने छैन ?” उनले थपे।

महामन्त्री गगन थापामाथि बस्नेतले दिएको अभिव्यक्ति ‘ज्यानप्राणमा खतरा आउने’ खालको भएको भन्दै शिवाकोटीले यस्तो अराजक भाषालाई पार्टीको औपचारिक रेकर्डबाट हटाउन माग गरे। “हामी भविष्यका पुस्तालाई कस्तो सन्देश दिन चाहन्छौं ? यस्तो गैरजिम्मेवार र हिंस्रक अभिव्यक्तिलाई पार्टी अभिलेखबाट हटाइनुपर्छ,” उनले कडा रूपमा भने।

फरक प्रसंगमा उनले पार्टीले जनताको विश्वास गुमाउँदै गएको टिप्पणी गरे। “जब नेतृत्व अवसर पाउँछ, त्यहीबेला मत्त हात्तीझैं गरिन्छ भने जनताले आरती गरेर बस्दैनन्,” शिवाकोटीले भने। “संघ र प्रदेशको बजेटपछि हाम्रो आफ्नै नेता–कार्यकर्ताको प्रतिक्रिया देख्नुभएको होला, त्यो जनताबीचको असन्तुष्टि हो।”

शिवाकोटीले कांग्रेसको मूल विचार र संस्थागत मर्यादालाई कायम राख्दै आन्तरिक व्यवहारमा अनुशासन र जिम्मेवारीको भावनाले चल्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com