काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा समावेश गरिएका महत्त्वपूर्ण प्रावधानहरूलाई प्रतिक्रियावादी शक्तिहरूको अनुकूल बनाउँदै उल्ट्याउने प्रयास भइरहेकाे आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा समाजवादी चिन्तक दुर्गा नारायण ढकालको पुस्तक समाजवादी दर्शनको रूपरेखा सार्वजनिक गर्दै प्रचण्डले पछिल्ला घटनाक्रम संविधानको मूल मर्मविपरीतको दिशातर्फ जान थालेको संकेत देखिएको बताए।
“संविधानमा उल्लेख गरिएका परिवर्तनका सारभूत बुँदाहरू उल्ट्याउने कोशिश भैरहेको छ,” प्रचण्डले भने, “संसदीय अभ्यासभित्रै हुने छेडखानीहरूले बाहिर देखिने कुरा एकातिर हुन्छ, भित्र अर्कै खेल चलिरहेको हुन्छ।”
पूर्व क्रान्तिकारी आन्दोलनको प्रसंग कोट्याउँदै उनले थपे, “हामीले विगतमा भन्थ्यौँ— संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली हो। अहिले पनि संसदमा त्यस्तै प्रवृत्ति दोहोरिएको देखिन्छ।”
प्रचण्डले आफू नेतृत्वमा सरकार बनेका हरेकपटक समाजवादतर्फको मार्ग अवलम्बन गर्न गम्भीर प्रयास गरिएको दाबी गर्दै भने, “तर दुर्भाग्यवश, बुद्धिजीवी वर्गले त्यसलाई गहिरिएर बुझ्न सकेन।”
उनले समाजवादी बहसलाई मजबुत बनाउन विभिन्न धार, विचार र मत भएको फोरमबीच संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे। “समाजवादकाे बहस हुने सबै खाले मञ्चलाई स्वागत गर्नुपर्छ,” उनले जोड दिए।
कार्यक्रममा उनले समाजवादमूलक संरचना निर्माणको लक्ष्य प्राप्त गर्न नीतिगत स्पष्टता, वैचारिक परिपक्वता र राजनीतिक इच्छाशक्ति आवश्यक रहेको पनि स्मरण गराए।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया