काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तभित्र उम्मेदवारको प्रस्तावित नाम जिल्ला कार्यसमितिबाट पठाउन निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। “जिल्लाबाट नाम आएपछि केन्द्रीय तहमा थप छलफल गरेर अन्तिम निर्णय हुनेछ,” श्रेष्ठले भने।

advertisement

उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन राप्रपाले पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले भ्रष्टाचारविरुद्धको संघर्षलाई अभियानका रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ। यसका लागि पार्टीका सबै तहमा सचेतना कार्यक्रम र दबाबमूलक गतिविधिहरू गरिने श्रेष्ठले बताए।

त्यस्तै, पार्टीको सांगठानिक सुदृढीकरणका लागि असोज मसान्तसम्म सबै स्थानीय तह र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।

भिजिट भिसा प्रकरणबारे बैठकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने पार्टीको अडान कायमै रहेको स्पष्ट गरेको छ। साथै, राप्रपाको केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ दोस्रो साता बोलाउने निर्णय पनि बैठकमा गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com