काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान यथावत रहेको प्रस्ट पार्दै संसद्मा भइरहेको प्रतिरोधलाई निरन्तरता दिने निर्णय गरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले छानबिन आयोग गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने माग दोहोर्याएको हो।
पार्टी प्रवक्ता मनिष झाले पत्रकारहरूसँग जानकारी दिँदै भने, “यो गम्भीर प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न छानबिन आयोग अपरिहार्य छ। गृहमन्त्रीको भूमिकाबारे पनि जवाफदेही बन्ने बेला आएको छ।”
सचिवालय बैठकले संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी हेरफेरलाई पनि विधायकीय प्रक्रियामाथिको गम्भीर हस्तक्षेपका रूपमा लिँदै संसदीय छानबिन समिति गठनको माग गरेको छ।
बैठकको निर्णयमा उल्लेख छ, “कानुन निर्माण गर्ने संसदको अधिकारमाथि भएको यस्तो बदमासीपूर्ण चलखेललाई नजरअन्दाज गर्न सकिन्न। जिम्मेवारहरूलाई छानबिन गरी कारबाही गर्न संसदीय समिति आवश्यक छ। विधायकीय स्वतन्त्रता स्खलन हुने कुनै पनि गतिविधि रास्वपाका लागि स्वीकार्य छैन।”
त्यस्तै, कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र आगामी आइतबार बस्ने सचिवालय बैठकमा उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरिने निर्णय गरिएको प्रवक्ता झाले बताए।
संगठनात्मक सुदृढीकरणतर्फ कदम चाल्दै पार्टीले सबै केन्द्रीय विभागलाई सक्रिय बनाउन, रिक्त पदहरूमा विभाग प्रमुखले पहल गरेर नियुक्ति गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। २०८२ असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ साउन ७ गतेभित्र पेश गर्न निर्देशन दिइएको छ।
त्यस्तै, असार मसान्तसम्म प्रदेशस्तरीय विभाग गठन सम्पन्न गर्न पनि केन्द्रीय विभाग प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।
बैठकले पार्टीको संगठन विभागमा तीन नयाँ सदस्य मनोनयन गरेको छ। मनोनयन हुनेमा चितवनकी प्रमिला भुसाल, दाङका सुशील अधिकारी र चितवनकै मानकुमार लामा रहेका छन्।
प्रकाशित मिति: १९ असार २०८२, बिहिबार













प्रतिक्रिया