काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्ना पार्टीका मन्त्रीलाई कुनै पूर्वसूचना, कारण वा औपचारिक प्रक्रिया विना पदबाट हटाइएको घटनालाई असंवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण भन्दै कडा आपत्ति जनाएकी छिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै श्रेष्ठले पार्टीका प्रतिनिधिहरूको बेइज्जतीलाई सिङ्गो पार्टीको अपमानको रूपमा लिने स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, “सुदूरपश्चिममा हाम्रो पार्टीका मन्त्रीलाई बिना औपचारिक संवाद र कारण हटाइएको घटनालाई हामी केवल असंवैधानिक मात्र होइन, सत्ता अहंकार, निरंकुशता र लोकतान्त्रिक मूल्यप्रति गरिएको गम्भीर अपमानको रूपमा लिन्छौं।”

advertisement

श्रेष्ठले उक्त घटनापछि नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको उल्लेख गर्दै उक्त कदमलाई सैद्धान्तिक, दूरदर्शी र जनप्रतिनिधिको गरिमा जोगाउन गरिएको निर्णय बताएकी छन्।

उनका अनुसार, नागरिक उन्मुक्ति पार्टीका चार जना संघीय सांसद छन् भने मधेस प्रदेशमा १, लुम्बिनी प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जना प्रदेशसभा सदस्य रहेका छन्।

“हाम्रो उपस्थिति केवल सांसदको संख्यामा सीमित छैन,” श्रेष्ठले भनेकी छन्, “यो जननिर्वाचित हैसियतमा जनताको भरोसाको प्रतिनिधित्व हो, संविधानप्रतिको हाम्रो प्रतिबद्धता हो, र उत्पीडित समुदायहरूको आवाजलाई अगाडि ल्याउने हाम्रो संकल्प हो।”

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com