काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले कानुन निर्माणमा हतार नगरी गुणस्तरीय र त्रुटिरहित कानुन बनाइनु पर्नेमा जोड दिएका छन्।
शुक्रबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले लामो समयदेखि कानुन नबनेको बहानामा हचुवाका भरमा कानून नबनाउन आग्रह गरेका हुन्। उक्त बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ सम्बन्धमा सैद्धान्तिक छलफल भइरहेको थियो।
सांसद किराँतीले १२ वर्षभन्दा बढी समयदेखि कानुन निर्माण प्रक्रिया अलमलमा परिरहेको स्मरण गराउँदै भने, “कानुन नबनाएको धेरै भयो भन्दैमा हतारमा त्रुटिपूर्ण कानुन बनाउने छुट कसैलाई छैन।”
उनले नेपालको नागरिक उड्डयन प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार गर्न यो विधेयक महत्वपूर्ण रहेको बताए। किराँतीले युरोपेली संघले नेपाललाई कालोसूचीमा राखेकै कारण अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई गैरजिम्मेवार र अक्षम देशको रूपमा हेरिन थालेको चिन्ता व्यक्त गरे।
“नेपाल अहिले युरोपेली युनियनको कालोसूचीमा परेको छ,” उनले भने, “यसको सीधा असर नेपाल वायुसेवा निगममाथि परेको छ। अरू निजी वा विदेशी एयरलाइन्सलाई रोकिने अवस्था छैन। केवल नेपालको राष्ट्रिय ध्वजावाहकमाथि मात्र रोक लगाइएको छ। यसले अन्तर्राष्ट्रिय जगतमा नेपालले काम गर्न सक्दैन भन्ने सन्देश दिइरहेको छ। यो अत्यन्तै गम्भीर विषय हो र हामी सबैले यसप्रति चासो देखाउनुपर्ने समय आएको छ।”
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया