काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि यातायात व्यवस्था विभागले आजदेखि सबै प्रकारका लाइसेन्स सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि ई–ड्राइभिङ लाइसेन्स प्रणाली, अनलाइन आवेदन फारम, र अत्यावश्यक सेवा प्रणाली लगायत सबै सेवा बन्द गरिएको जानकारी दिएको छ ।
“सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक सेवासमेत सबै सेवा बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ,” विभागको सूचनामा उल्लेख छ ।
प्राविधिक समस्या समाधानका लागि आवश्यक काम भइरहेको विभागले जनाएको छ । सेवा पुनः सञ्चालनबारे आगामी सूचना प्रकाशित गरेर जानकारी दिने विभागले स्पष्ट पारेको छ ।
यसबीचमा सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्ने हेतुले सेवा अस्थायी रूपमा रोकिनु परेको विभागको जानकारी दिएको छ ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया