सर्लाही । नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्की दिएको आरोपमा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवमाथि प्रहरीले कारबाही अघि बढाएपछि जिल्लामा तनाव सिर्जना भएको छ। पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् भने प्रहरी गाडीसमेत तोडफोड गरिएको छ।
मंगलबार राति करिब साढे आठ बजे मलंगवास्थित पूर्वाधार कार्यालय परिसरमा चेक भुक्तानीलाई लिएर विवाद चर्किएको थियो। आरोप अनुसार, कार्यालयमा रातिको समयमा प्रहरीको निगरानीमा चेक काटिँदै आएकोप्रति आपत्ति जनाउँदै नेता यादवले ती कार्यलाई ‘कमिसनको कारोबार’ भन्दै एसपी खड्कामाथि गम्भीर आरोप लगाएका थिए।
विवादका क्रममा एसपी खड्का र नेता यादवबीच तीव्र बहस र गालीगलौज भएको अडियो सार्वजनिक भएको छ। अडियोमा यादवले एसपीलाई “मधेश लुट्न आएका” भन्दै कमिसनको नाममा प्रहरी परिचालन गरेको आरोप लगाइरहेका छन्, भने एसपीले भने आफूलाई कार्यालयबाटै सहयोगको अनुरोध आएपछि प्रहरी पठाएको जिकिर गरेका छन्।
यही घटनापछि प्रहरी टोली यादवलाई नियन्त्रणमा लिन उनी रहेको गाउँ पुगेको थियो। तर, स्थानीयको विरोधमा उत्रँदा अवस्था तनावपूर्ण बन्दै गयो। प्रहरी गाडीमाथि ढुंगामुढा प्रहार भएको र गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले पुष्टि गरेका छन्।
प्रहरीले नेता यादवको खोजी जारी राखेको जनाएको छ।
विवादको मूल विषय भने महेन्द्र नारायण निधि आवास कार्यक्रम अन्तर्गत अगर्वा र सलेमपुर गाउँमा निर्माण भएका घरहरूको भुक्तानीसम्बन्धी प्रक्रियामा देखिएको अनियमितता रहेको बुझिएको छ।
नेता यादवले पूर्वाधार कार्यालय मलंगवाका प्रमुख विजय यादवमाथि कार्यालय समयमा उपस्थित नहुने, चन्द्रपुरस्थित डेराबाट राति मात्रै मलंगवा पुग्ने, प्रहरीको निगरानीमा सर्वसाधारणलाई प्रवेश निषेध गरी चुपचाप चेक काट्ने, र कमिसनको चलखेल गर्ने जस्ता आरोप लगाएका छन्।
यता, कार्यालय प्रमुख विजय यादवले भने असार मसान्तका कारण दिनरात नभनी काम गर्नुपरेको बताउँदै फाइल चाँडो टुंग्याउन राति पनि कार्यालय सञ्चालन गरिएको स्पष्टीकरण दिएका छन्।
यस घटनाले प्रशासन र राजनीतिक नेतृत्वबीचको अविश्वास र प्रदेशमा सार्वजनिक योजनाको कार्यान्वयनमा पारदर्शितामाथि प्रश्न खडा गरेको छ। हाल सर्लाहीमा स्थिति तनावग्रस्त छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया