काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा यस्तो धारणा राखेका हुन्।
खतिवडा विवादमा तानिनुको कारण संघीय निजामती सेवासम्बन्धी विधेयक २०८२ को दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ (नियमित सेवाबाट राजनीति प्रवेश गर्नुअघि तोकिएको अनिवार्य अवकाश अवधि) को प्रावधान हो। समितिबाट पारित प्रस्तावभन्दा फरक रूपमा संसदमा उक्त दफा प्रस्तुत गरिएको भन्दै उनीप्रति आलोचना बढेको छ।
यस विषयमा नेकपा एमालेसहित खतिवडाकै पार्टी नेपाली कांग्रेसका केही सांसदहरूले समेत उनलाई समितिको सभापति पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
पार्टी बैठकमा बोल्दै खतिवडाले आफ्नो गल्ती स्वीकार गर्दै भने, “सभापतिको हैसियतमा मसँग पनि कमजोरी हुन सक्छ। यदि पार्टीले मलाई बाहिर बस्नुपर्छ भनेर निर्णय गर्छ भने, म त्यो निर्णय स्वीकार गर्न तयार छु।”
विधेयकको विवादित दफा र समितिको प्रक्रियामा देखिएको भिन्नता सार्वजनिक भएपछि संसदीय प्रक्रिया र समितिको भूमिकामाथि प्रश्न उठेको छ। यतिबेला खतिवडाको पद जोगिने वा नजोगिने भन्नेमा नेपाली कांग्रेसभित्र पनि बहस चर्किएको देखिन्छ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया