काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) अहिले गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकको प्रमुख कम्युनिस्ट शक्ति मानिने एमाले आन्तरिक अन्तरविरोध, अनुशासनहीनता र व्यक्तिवादले ग्रस्त हुँदै गइरहेको टिप्पणी गरे।
उनले भने, “नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनेर चिनिने एमाले अहिले गहिरो संकटमा छ। यसको भविष्य के हुन्छ भनेर यतिखेर स्पष्ट रूपमा भन्न सकिने अवस्था छैन। म त्यो पार्टीको आन्तरिक मामिलामा धेरै प्रवेश गर्न चाहन्न तर व्यक्तिवाद, अनुशासनहीनता, दक्षिणपन्थी अवसरवाद र पुँजीवादी प्रवृत्तिहरूले पार्टीलाई कमजोर बनाउँदै लगेका छन्। यस्ता प्रवृत्तिहरूको पराजय अनिवार्य छ।”
अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनको भविष्य अझै समाप्त नभएको उल्लेख गर्दै मुलुकमा सशक्त वाम राजनीतिको आवश्यकता रहेको बताए।
यही क्रममा उनले वर्तमान सरकार जनताको भावना र अपेक्षासँग विच्छिन्न भएको आरोप लगाए।
उनले भने, “सरकार जनभावनालाई बुझ्न असफल भएको छ, जनचाहनालाई सम्मान गर्न सकेको छैन। सही नीति ल्याउन सकेको छैन, जनताका पीडालाई सम्बोधन गर्न असफल भएको छ। यस्तो सरकार जनमुखी होइन, जनविरोधी बनेको छ। यसले जनताको विश्वास जित्न सक्दैन। यस्तो सरकार सुशासनको होइन, कुशासनको प्रतीक हो। त्यसैले यसको पतन अवश्यंभावी छ। अब समय मात्र कुर्न बाँकी छ, आत्तिनुपर्ने केही छैन।”
भ्रष्टाचारविरुद्ध आफ्नो अडान स्पष्ट पार्दै अध्यक्ष नेपालले आफू कहिल्यै अनुचित काममा नलागेको दाबी गरे।
“मेरो जीवन मूल्यमान्यतामा आधारित छ — नबिराउनु, नडराउनु। यदि म बिराएको छु भन्ने कुनै प्रमाण कसैले देखाउन सक्छ भने म जुनसुकै बलिदान गर्न तयार छु। म नियम, अनुशासन, विधि र प्रक्रियाको सम्मान गर्ने व्यक्ति हुँ। कहिल्यै बदलाको भावना राख्दिन, र सकेसम्म सबैलाई समेटेर लैजाने नीति लिन्छु,” अध्यक्ष नेपालको भनाइ थियो।
उनले पार्टीभित्रै पनि सुदृढ सिद्धान्त, निष्ठा र व्यवहारका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान सरकारको आलोचना गर्दै सशक्त, जनउत्तरदायी र नीतिगत रूपमा स्पष्ट नेतृत्व निर्माणको पक्षमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार













प्रतिक्रिया