काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले पार्टीभित्र नेताहरूलाई व्यक्तिगत रूपमा खुइल्याउने प्रवृत्तिले कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

शुक्रबार सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै खतिवडाले सभापति, उपसभापति र महामन्त्रीजस्ता शीर्ष नेताहरूमाथि खुलेआम आक्षेप लगाउनु पार्टीको हितविपरीत भएको बताए।

advertisement

उनले प्रश्न गरे, “कसैले सभापतिलाई, कसैले उपसभापति वा महामन्त्रीलाई खुइल्याउने हो भने पार्टी कहाँ पुग्छ? यो पार्टी त हामी सबैको हो, साझा घरजस्तै हो। आपसी सम्मान र सहकार्य बिना पार्टी अगाडि बढ्न सक्दैन।”

बैठकमा केही नेताहरूबीच आपसी आलोचना चलेको थियो। केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापाप्रति तीव्र र कथित ‘हिंसात्मक’ अभिव्यक्ति दिएका थिए भने नेता शेखर कोइरालाले सांसद विनोद चौधरीको भूमिकामाथि प्रश्न उठाएका थिए। पार्टी बैठकमा गुटगत धारणा र आन्तरिक असहमतिको रंग झन् स्पष्ट देखिएको थियो।

त्यसै क्रममा बोल्दै खतिवडाले आफूलाई पार्टीले दिएको जिम्मेवारीप्रति पूर्ण इमानदार रहेको बताए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका खतिवडाले पार्टीले आवश्यक ठानेमा समितिको सभापति पदबाट राजीनामा दिन तयार रहेको स्पष्ट पारे।

“मैले पार्टीको निर्देशनमा त्यो जिम्मेवारी सम्हालेको हुँ,” उनले भने, “यदि पार्टीले भन्छ भने म राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट अलग हुन तयार छु।”

हालै समितिबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को दफा ८२ मा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाबारे विवाद चर्किएको छ। समितिको निर्णयअनुसार विधेयक पारित नभएको भन्दै प्रतिनिधिसभाभित्रै खतिवडाको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।

सांसदहरूले समितिको निर्णय र प्रतिनिधिसभाबाट पारित विधेयकबीच असंगति रहेको भन्दै सभापति खतिवडालाई नै जिम्मेवार ठहर गरेका छन्।

पार्टीको आन्तरिक ऐक्यबद्धता कमजोर बनिरहेको सन्दर्भमा खतिवडाले आपसी विश्वास, संवाद र एकता कायम राख्दै पार्टीलाई सुदृढ बनाउनुको विकल्प नभएकोमा जोड दिएका छन्।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com