काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आउने जानकारी र हल्लाका भरमा धारणा बनाउने प्रवृत्तिबाट सचेत रहन विद्यार्थीहरूलाई आग्रह गरेका छन्।

शनिबार तारकेश्वर नगरपालिका–११, नेपालटारमा आयोजित एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै थापाले अहिलेको डिजिटल युगमा सूचना सजिलै प्राप्त हुने भए पनि त्यसको गहिरो विश्लेषण गर्न आवश्यक रहेको बताए।

advertisement

“फेसबुक वा टिकटकमा कसैले केही भनिदियो भनेर त्यसैलाई सत्य ठान्ने बानी त्याग्नुपर्छ,” उनले भने, “कुनै कुरा सुनिएपछि सोच्नुस्, बुझ्नुस् र प्रश्न गर्नुस्। आलोचनात्मक चेत विकास गर्नुपर्छ।”

थापाले नेता, शिक्षक वा अभिभावकले भनेको कुरा पनि सधैं सत्य नहुन सक्ने भन्दै हरेक जानकारीमाथि विवेकपूर्ण ढंगले सोच्नुपर्नेमा जोड दिए। “कसैले देश डुबेको छ भन्यो भनेर आत्तिनु हुँदैन, र कसैले सब ठीक छ भन्यो भनेर ढुक्क हुनु पनि हुँदैन,” उनले स्पष्ट पारे, “सत्य ती दुईको बीचमा कतै हुन्छ।”

उनले युवाहरूलाई सकारात्मक सोच राख्दै समाजको रूपान्तरणमा जिम्मेवारीपूर्वक सहभागी हुन आह्वान गरे। “राम्रा कामको प्रशंसा गर्नुस्, नराम्रा कुराको आलोचना गर्नुस्, र जे बाँकी छ, त्यो म गर्छु भन्ने आँट राख्नुस्,” थापाले भने।

कार्यक्रममा उनले विद्यार्थीहरूलाई थकाइ मान्न, भाग्न वा दबिन नदिई अडिएर अगाडि बढ्न, नयाँ कुरा सिक्न र सधैं जिज्ञासु बन्न प्रेरणा दिए।

प्रकाशित मिति: २१ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com