काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले किसानका सवालमा सरकारको धारणा नै गलत र गैरजिम्मेवार रहेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनले उखु किसानको हकमा सरकारले दिएको अनुदान कटौती गर्नु गम्भीर लापरवाही भएको बताए।
“पछिल्ला २५ वर्षदेखि सरकारले सुगर किन्न किसानलाई अनुदान दिँदै आएको थियो,” उनले भने, “यो वर्ष त्यो अनुदान हटाइएको छ, कारण भनिएको छ— सरकारसँग पैसा छैन। तर मन्त्रीहरूका विदेश भ्रमण रोक्दा डेढ अर्ब रुपियाँ सहजै बचाउन सकिन्थ्यो।”
कोइरालाले आफू स्वयं अहिले पनि २० बिगाहा जमिनमा उखु खेती गरिरहेको उल्लेख गर्दै सामान्य खेतीले मात्रै देशको अर्थतन्त्र चल्न नसक्ने र कृषिमा आधुनिकीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।
“सरकारको दृष्टिकोण किसानमैत्री हुनुपर्छ,” उनले जोड दिए, “आम किसानलाई सहयोग गर्नु सरकारको कर्तव्य हो। हामीले कृषिलाई नयाँ सोच र प्रविधिको साथ अघि बढाउनुपर्छ।”
कार्यक्रममा कोइरालाले हाल देशमा नकारात्मकता फैलाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्दै सबै नागरिक र राजनीतिक दलहरूले ‘हामी सक्छौँ’ भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
“यही कांग्रेसको नेतृत्वमा देशले मार्ग पाउँछ,” उनले भने, “सभापतिजीले पार्टीको नेतृत्व अझ सशक्त रूपमा लिनुहोस्, हामी सकारात्मक सोचसहित अगाडि बढ्न तयार छौँ।”
प्रकाशित मिति: २१ असार २०८२, शनिबार













प्रतिक्रिया