काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनरागमनबारे पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको स्पष्ट पारेका छन्।
जनकपुरधाममा आज पत्रकारहरूसँग कुरा गर्दै महासेठले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा फर्किने चर्चा बजारको हल्ला मात्रै भएको बताए। “पार्टी अध्यक्ष केपी शर्मा ओली र विद्या भण्डारीबीच कुनै मतभेद छैन,” उनले भने, “कुनै खाले कित्ताकाट पनि भएको छैन। मिडियामा आएको प्रचार पूर्णतः निराधार हो।”
महासेठका अनुसार यदि भण्डारी सक्रिय राजनीतिमा फर्किन्छिन् भने त्यो ओलीकै सहमति र पहलमा हुनेछ। “उहाँले राजनीतिमा फर्किने चाहना देखाउनुभएको भए पनि कसरी अघि बढ्ने भन्नेबारे केही नटुंगिएको छ,” उनले स्पष्ट पारे।
पूर्वराष्ट्रपतिले पार्टी सदस्यता नवीकरण गरिसकेको पुष्टि गर्दै महासेठले भने, “उहाँको राजनीतिमा संलग्नता संविधान र एमालेको विधानले निषेध गरेको छैन। त्यसैले उहाँ फर्किन चाहनुहुन्छ भने त्यसमा रोक्ने कुनै आधार छैन।”
उनले भण्डारीको राजनीतिमा सम्भावित भूमिकालाई लिएर पार्टीमा कतिपय नेताले अनावश्यक विवाद सिर्जना गरिरहेको आरोप लगाए। “एक–दुई जना साथीहरूले जानीजानी अन्तरविरोध चर्काउने काम गरिरहेका छन्,” महासेठले भने, “पूर्वराष्ट्रपतिलाई विवादमा तान्नु न त पार्टीको हितमा हो, न त मुलुककै लागि उचित हो।”
उनले जोड दिँदै भने, “विद्या भण्डारीले राजनीति गर्ने नगर्ने निर्णय व्यक्तिगत हो। पार्टीमा त्यसलाई लिएर कुनै विभाजन छैन, न त कुनै असहजता।”
प्रकाशित मिति: २२ असार २०८२, आइतबार













प्रतिक्रिया