सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले आफू प्रहरीको वान्टेड सूचीमा परे पनि फरार नरहेको स्पष्ट पारेका छन्। उनले आइतबार फेसबुक लाइभमार्फत सार्वजनिक स्पष्टीकरण दिँदै आफूविरुद्ध लगाइएका आरोपहरू निराधार रहेको बताए।
यादवले आफ्नो घरमा प्रहरीको डाँका शैलीको छापा परेको आरोप लगाउँदै छोरामाथि कुटपिट गरिएको र हाल उनी छोराको उपचारका लागि साथमा रहेको जानकारी दिए। “म भागेको होइन, राज्य संयन्त्रले झुट्टा मुद्दा लगाएर मलाई अपराधी देखाउन खोजिरहेको छ,” उनले भने।
उनले आफूमाथि लगाइएका दुईवटा मुद्दा– सार्वजनिक सेवा अवरोध र राजनीतिक उपद्रवसम्बन्धी आरोप–लाई षड्यन्त्रपूर्ण करार दिँदै जनताको पक्षमा उठेको आवाजलाई दबाउन खोजिएको आरोप लगाए। “म जनताको पक्षमा सदैव बोलिरहन्छु, राज्यले त्यसैको सजाय दिन खोजेको हो भने म सय मुद्दा सामना गर्न तयार छु,” यादवले दोहोऱ्याए।
यादवले प्रहरी कुटपिटबाट आफ्नो छोराको गर्दनमा गम्भीर चोट पुगेको दाबी गर्दै घटनापछि छोराको उपचारमा व्यस्त रहेको र यही कारण सार्वजनिक रूपमा देखिन नपाएको स्पष्टीकरण दिएका हुन्।
उनले सामाजिक सञ्जालमा भाइरल भएको अडियोबारे पनि धारणा राख्दै एसपी योगेन्द्रकुमार खड्कालाई आफूले गालीगलौज नगरेको दाबी गरे। “माथि लगाइएको मुद्दा गैरआवश्यक र पूर्वाग्रही हो। मलाई फसाउने प्रयास भए पनि म डराउने मान्छे होइन,” यादवले भने।
त्यस्तै, उनले सर्वसाधारणलाई भ्रष्टाचार र दमनविरुद्ध एकजुट हुन आह्वान गर्दै निकट भविष्यमै सर्लाहीमै फर्किने चेतावनी दिए। “म चाँडै सर्लाही आउँदैछु। कानुनी लडाइँ सामना गर्न तयार छु,” उनले भने।
यसअघि बिहीबार राति यादव र सर्लाहीका प्रहरी प्रमुखबीचको टेलिफोन संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको हो। अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ भने प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।
प्रकाशित मिति: २२ असार २०८२, आइतबार












प्रतिक्रिया