काठमाडौं । इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रस्थित एक समुद्रतटीय क्याफेमाथि गरेको हवाई आक्रमणमा हमासका नौसेना कमाण्डरसहित थुप्रै व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ। आक्रमणमा सर्वसाधारण पनि मारिएका छन्।
बीबीसीले जनाएअनुसार गाजाको अल-बका नामक क्याफेमाथि सोमबार भएको आक्रमणमा ठूलो संख्यामा मानिस हताहत भएका छन्। मारिनेहरूमध्ये केही विदेशमा रहेका परिवारका सदस्यहरू पनि रहेका छन् भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
इजरायली रक्षा बल (आईडीएफ) ले आइतबार एक विज्ञप्ति जारी गर्दै हमासका नौसेना कमाण्डर रामजी रमजान अब्द अली सालेह, मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सुर र निसिम मुहम्मद सुलेमान अबु सबाह को मृत्यु भएको जानकारी दिएको छ।
आईडीएफका अनुसार सालेह हमासको तर्फबाट समुद्री आक्रमण योजनाहरू बनाउने र कार्यान्वयन गर्ने मुख्य जिम्मेवार व्यक्ति थिए।
स्थानीय स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार आक्रमणको बेला हमासका एकजना वरिष्ठ कमाण्डर सो क्याफेमा उपस्थित रहेको आशंका गरिएको थियो। यही सूचना आधारमा क्याफे लक्षित गरिएको बताइएको छ।
बीबीसीले पुष्टि गरेका विवरण अनुसार उक्त क्याफे आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको छ, जसमा नौ जना महिला र बालबालिका समेत परेका छन्।
गाजा क्षेत्रमा जारी हिंसात्मक झडपका बीचमा भएको यो आक्रमण पछिल्लो समयको एक गम्भीर घटनाका रूपमा चिनिएको छ। मानव अधिकार समूहहरूले सर्वसाधारणको ज्यान जाने गरी गरिएका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया