एजेन्सी । इजरायल र इरानबिच शान्तिको सङ्केत आइरहँदा मध्यपूर्वमा फेरि तनाव बढ्ने सङ्केत देखिएको छ । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा भीषण आक्रमण गरेका छन् ।
इजरायलले ’अपरेशन ब्ल्याक फ्ल्याग’ मार्फत यमनको पश्चिमी भागमा रहेका तीन वटा प्रमुख बन्दरगाहमा आक्रमण गरेको छ । इजरायली वायुसेनाले हुदैदाह, रास इसा र सैफमा ठुलो हवाई आक्रमण गरेको हो । यसअघि इजरायलले इरानको आणविक स्थलहरूलाई निशाना बनाएको थियो ।
आक्रमण अघि इजरायली वायुसेनाले जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै इजरायलले यी क्षेत्रका नागरिकहरूलाई ठाउँ छाडेर सुरक्षित स्थानहरूमा जान चेतावनी दिएको थियो ।
चेतावनीको केही घण्टामै हवाई आक्रमण सुरु भयो । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले आक्रमणको पुष्टि गरेका छन् । ‘हुथीहरूले जेसुकै कारबाही गरे पनि उनीहरूले यसको मूल्य चुकाउनुपर्नेछ । यमन इरानको जस्तै अवस्थामा हुनेछ । इजरायल विरुद्ध हात उठाउने जो कोहीको हात काटिनेछ’ उनले चेतावनी दिएका थिए ।
इजरायलले किन आक्रमण गर्यो ?
इजरायल रक्षा बल (आईडीएफ) ले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरेर आक्रमणको कारण व्याख्या गरेको छ । हुथी विद्रोहीहरूले इरानबाट हतियार आयात गरेर इजरायल र यसका सहयोगीहरू विरुद्ध आतङ्कको षड्यन्त्र रचिरहेका उसको दाबी छ । आक्रमणमा हुथी–नियन्त्रित पावर स्टेसन ‘रस कनाटिब’ लाई पनि निशाना बनाइएको थियो, जसले इब्ब र ताइज शहरलाई बिजुली दिन्थ्यो ।
आईडीएफले गुप्तचर जानकारीको आधारमा यमनको अल हुदैदाह, रास ईसा, सलिफ र रास कनाटिब पावर प्लान्टहरूमा रहेका हुथी आतंकवादी अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ । यी अड्डाहरू इरानी हतियारहरू स्थानान्तरण गर्न र ड्रोन र मिसाइलहरूद्वारा इजरायली नागरिकहरूमाथि आक्रमण गर्न प्रयोग गरिँदै थियो ।
आक्रमणहरूले ‘ग्यालेक्सी लिडर’ जहाजलाई पनि लक्षित गरेका थिए । २०२३ मा हुथीहरूले यो जहाजलाई कब्जा गरेका थिए र अन्तर्राष्ट्रिय जहाजहरूको निगरानी गर्न यसमा राडार प्रणाली स्थापना गरेका थिए ।
हुथी विद्रोहीहरूसँग सम्बन्धित मिडियाले आक्रमणको पुष्टि गरेको छ । तर उनीहरूले हुदैदा बन्दरगाहमा भएको आक्रमणलाई मात्र स्वीकार गरेका छन् । यस बाहेक, आक्रमणबाट भएको क्षति वा हताहतको बारेमा कुनै जानकारी दिइएको छैन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, हुथी विद्रोहीहरूले इजरायली आक्रमणपछि आफ्नो हवाई रक्षा प्रणाली सक्रिय भएको र मिसाइलले आक्रमणको जवाफ दिएको दाबी गरेका छन् ।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया