काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्।
७९औँ जन्मदिनको अवसरमा सोमबार निर्मल निवासमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजाले प्राकृतिक प्रकोप र स्वास्थ्य जोखिमप्रति सबै नेपालीलाई सचेत रहन आग्रह गरे।
“अहिले वर्षा र बाढीपहिरोको समय हो। पानीजन्य रोगको पनि जोखिम हुन्छ। सबै दाजुभाइ, दिदीबहिनीहरू सतर्क रहनुहोस्, विचार गरेर बस्नुस्,” उनले भने।
पूर्वराजा शाहले नेपाली हुनुको अर्थ केवल नेपालमा जन्मिएर होइन, नेपाल हाम्रो चेतनाभित्र र व्यवहारमा बस्नुपर्ने बताए। “हामी नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं। नेपाल हामीभित्र बस्नुपर्छ। अनि मात्रै साँचो माया र चिन्तन जन्मिन्छ,” उनले स्पष्ट पारे।
जन्मदिनको अवसरमा पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवासमा समर्थक, शुभेच्छुक र सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको थियो।
पूर्वराजाले हालको संवेदनशील अवस्थामा सबै नेपालीले देश र जनताको कल्याणका लागि मन, विचार र भावना एकत्रित गर्नुपर्ने उल्लेख गर्दै आपसी एकता र सहकार्यमा जोड दिए।
प्रकाशित मिति: २३ असार २०८२, सोमबार













प्रतिक्रिया