काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ वटा देशबाट अमेरिका प्रवेश गर्ने सामानमा लगाउने भनिएको उच्च कर (ट्यारिफ) अगस्ट १ सम्मका लागि स्थगित गरेका छन्। यो निर्णयले जापान र दक्षिण कोरियासहितका देशहरूले राहतको महसुस गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जापान र दक्षिण कोरियाबाट आयात हुने उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने आफ्नो धम्कीलाई दोहोर्‍याएका छन्। उनले अन्य विश्व नेताहरूलाई अगस्ट १ देखि कर लागू हुने चेतावनीसहितका पत्रहरू पनि पठाएका छन्। यी उच्च करहरू यसअघि जुलाई ९ बाट लागू हुने भनिएको थियो, जुन व्यापार सम्झौताका लागि वार्ता गर्ने उद्देश्यले स्थगित गरिएको थियो।

सोमबार, ट्रम्पले सामाजिक सञ्जालमा १४ देशका नेताहरूलाई सम्बोधन गर्दै पत्रहरू सेयर गरेका छन्, जसमा उनले आफ्नो पछिल्लो कर योजनाबारे जानकारी दिएका छन्।

advertisement

ट्रम्पले यो पनि स्पष्ट पारेका छन् कि यी करका दरहरू अमेरिकाको सम्बन्धित देशसँगको सम्बन्धका आधारमा घटाउन वा बढाउन सकिनेछन्। ट्रम्पले अप्रिलमा आफ्नो “लिबरेसन डे” घोषणा गर्दा विभिन्न देशका सामानहरूमा नयाँ कर लगाउने घोषणा गरेका थिए, र यसपटक पनि अधिकांश कर दरहरू पहिलेकै समान छन्।

कर लगाउँदा अमेरिकी व्यवसायहरू  विदेशी प्रतिस्पर्धाबाट जोगिने, घरेलु उत्पादन र रोजगारी बढ्ने ट्रम्पको तर्क छ । तर, अर्थशास्त्रीहरूले भने यी उपायहरूले अमेरिकामा मूल्यवृद्धि गर्ने र व्यापार घटाउने बताएका छन्। यो निर्णयसँगै सोमबार अमेरिकाका तीन मुख्य शेयर सूचकांकहरू घटेका थिए भने टोयोटाको अमेरिकी-सूचीकृत शेयर ४ प्रतिशतले  ओर्लिएको थियो।

गत वर्ष जापानले अमेरिकामा १४८ अर्ब डलरभन्दा बढीको सामान निर्यात गरेको थियो, जसले गर्दा युरोपेली संघ (EU), मेक्सिको, चीन र क्यानडापछि जापान अमेरिकाको पाँचौं ठूलो आयातकर्ता बनेको थियो। दक्षिण कोरिया पनि शीर्ष १० आयातकर्तामध्ये पर्छ।

दक्षिण कोरिया र जापानबाहेक  ट्रम्पले सोमबार म्यानमार र लाओसमा ४० प्रतिशत, थाइल्याण्ड र कम्बोडियामा ३६ प्रतिशत, सर्बिया र बंगलादेशमा ३५ प्रतिशत, इन्डोनेसियामा ३२ प्रतिशत, दक्षिण अफ्रिकामा ३० प्रतिशत, मलेसिया र ट्युनिसियामा २५ प्रतिशत कर लगाउने योजना घोषणा गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले आगामी दिनमा थप पत्रहरू पनि पठाउन सकिने बताएकी छन्। जुलाई ९ बाट अगस्ट १ मा करको म्याद सार्दा ट्रम्पको धम्कीको शक्ति घट्न सक्छ भन्ने सुझावलाई उनले खण्डन गरिन्। उनले भनिन्, “राष्ट्रपतिलाई विश्व नेताहरूले सधैं फोन गरिरहन्छन्, जो सम्झौता गर्नका लागि उहाँसँग बिन्ती गर्छन्।”

अप्रिलमा ट्रम्पले पहिलो पटक उच्च करको घोषणा गर्दा वित्तीय बजारमा उथलपुथल भएको थियो, जसले गर्दा उनले वार्ताका लागि केही उच्च शुल्कहरू स्थगित गरेका थिए भने १० प्रतिशत शुल्क भने कायम राखेका थिए।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com