काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणमा संलग्न ठानिएका जीबी राईको अवस्थाबारे संसदमा प्रश्न उठाएका छन्।
संसदमा बोल्दै शाहीले सहकारीमार्फत झन्डै ७३ लाख ८१ हजार नागरिकको रकम ठगी भएको दाबी गर्दै सरकारलाई राईको खोजीमा गम्भीर हुन आग्रह गरे। उनले भने, “सहकारीमा जनताको ठूलो धनराशि डुबेको छ, तर ठगीका नाइके जीबी राई कहाँ छन्? सरकारसँग डिल गरेर कतिऔं अर्बमा बचाइयो राईलाई ?”
शाहीले वर्तमान गृहमन्त्रीलाई पनि कटाक्ष गर्दै थपे, “हिजो प्रतिपक्षमा रहँदा जीबी राईलाई पक्रन्छु भन्दै गर्जने गृहमन्त्री अहिले कुन दुलोमा लुकेका छन्? अब किन चुप लाग्नुभएको छ? राईलाई कहाँ लुकाएर राख्नुभएको छ?”
उनले सरकार नै नचाहेकै कारण राईलाई अहिलेसम्म पक्राउ नगरिएको आरोप लगाए। “सरकारले चाह्यो भने राईलाई पक्रन नसक्ने कुरा नै हुँदैन,” शाहीले भने, “तर यो स्पष्ट छ—सरकारको इच्छाशक्ति छैन।”
शाहीले सहकारी पीडितको न्याय सुनिश्चित गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन संसद र सरकार गम्भीर हुनुपर्ने माग राखे।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया