काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले यूएईमा आयोजित अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै सरकारले आफूलाई बारम्बार अपमानपूर्वक बर्खास्त गर्दै आएकोप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन्।

मंगलबार यूएईमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले देश र जनताको हितमा इमानदारीपूर्वक काम गर्दा पनि आफूलाई निरन्तर अन्यायको सामना गर्नुपरेको बताएका हुन्।

advertisement

“जब म जनताको लागि, देशको लागि केही सकारात्मक परिणाम ल्याउने प्रयास गर्छु, त्यही बेला सरकारबाट मलाई अपमानपूर्वक हटाउने काम हुन्छ,” घिसिङले भने, “यो केवल एकपटक होइन, पटक–पटक दोहोरिएको अनुभव हो।”

विद्युत् क्षेत्रमा गरेको योगदानबाट सम्मान पाइन्छ भन्ने अपेक्षा राखेको भए पनि त्यसको सट्टा अपमान बेहोर्नुपरेको उनले बताए। “मैले विद्युत् क्षेत्रमा निकै मेहनतपूर्वक काम गरेँ। लाग्थ्यो, यसबाट सरकारले सम्मान गर्नेछ, तर उल्टै मलाई दुई वर्षसम्म कारबाहीको रूपमा रोकियो। पछिल्ला नौ महिनामा त लगातार ६–७ वटा स्पष्टीकरण सोधेर अन्ततः बर्खास्त गरियो,” घिसिङले भावुक ढंगमा सुनाए।

उनले आफूले देशमा आशा र आत्मविश्वास जगाउने काम गर्दै आएको बताउँदै सरकारबाटै त्यसलाई निराशातर्फ धकेल्ने प्रयास भएको आरोप लगाए। “जब आशा हराउँछ, आत्मविश्वास खस्किन्छ, तब मानिस आत्महत्यासम्म जान्छ। आज देश पनि कहीँ त्यसै दिशातिर त गइरहेको छैन? यो निकै गम्भीर विषय हो,” उनले भने।

कुलमान घिसिङले आफूलाई ऊर्जा दिने सबैभन्दा ठूलो शक्ति भनेकै जनताको समर्थन र विश्वास भएको स्पष्ट पारे। “मैले कहिल्यै सरकारले के गर्‍यो भनेर हेरेको छैन। मेरो शक्ति भनेको देश–विदेशबाट जनताले दिएको माया, समर्थन र सम्मान हो,” उनले बताए।

उनले सामाजिक सञ्जाल र सडकबाट पाएको जनआवाजले नै आफूलाई आत्मबल दिएको भन्दै धन्यवाद प्रकट गरे। “सामाजिक सञ्जालमा, सडकमा, जनताले बोलिरहनुभएको छ — त्यो नै मेरो लागि सबैभन्दा ठूलो सम्मान हो,” उनले जोड दिए।

कार्यक्रमको अन्त्यमा घिसिङले देश बनाउने जिम्मेवारी अब जनताकै काँधमा रहेको उल्लेख गरे।

“अब फेसबूक र टिकटकमा पोस्ट गरेर मात्र केही हुनेवाला छैन। तपाईं–हामी सबैले प्रत्यक्ष रुपमा लाग्नुपर्छ। विदेशमा बस्ने युवा शक्तिदेखि देशमै क्रियाशील सबै नागरिक मिलेर अब देश बनाउने समय आएको छ,” उनले दृढतापूर्वक भने।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com