काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न कडा चेतावनी दिएका छन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले खेलकुद विकासको माध्यम हो, राजनीति गर्ने थलो होइन भन्ने स्पष्ट सन्देश दिएका हुन्।

सातदोबाटोमा निर्माण गरिएको ‘नेशनल हाई परफर्मेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, “सरकारमा राजनीतिक दलहरू आउन सक्छन्, तर जुन क्षेत्रको जिम्मेवारी लिइन्छ, त्यसको विकास गर्नु प्राथमिकता हुनुपर्छ। कृषि, उद्योग, वा खेलकुद जहाँ भए पनि राजनीति होइन, विकास नै मुख्य विषय हो। खेलकुदमा ‘पोलिटिक्स’को ठाउँ छैन।”

advertisement

नेपाल प्रिमियर लिग (एनपीएल)को विषयलाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच उत्पन्न विवादलाई लिएर प्रधानमन्त्री ओलीले मन्त्री चौधरीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री चौधरीले आफूनिकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा अनुसन्धान समिति बनाएका थिए, जसले अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलको कार्य रोक्न निर्देशन दिएको थियो।

प्रधानमन्त्री ओलीले यस्तो निर्णयलाई अस्वीकार गर्दै उल्टै क्यानलाई एनपीएलको तयारी अगाडि बढाउन निर्देशन दिए। “एनपीएल हाम्रो राष्ट्रिय गौरवको कार्यक्रम हो, यसको भव्य तयारी गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “क्रिकेटप्रतिको जनस्तरको आकर्षणलाई दृष्टिगत गर्दै एनपीएललाई अझै व्यापक बनाउनुपर्छ।”

कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सारिएकोप्रति पनि प्रधानमन्त्री ओलीले कडा आपत्ति जनाए। उनले मंसिरमै राष्ट्रिय खेलकुद सम्पन्न गर्न मन्त्रालयसहित सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिए। “अब यो लज्जाको विषय बनिसक्यो, फेरि मिति सार्न मिल्दैन,” उनले भने।

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट मैदान सानो भयो भनेर निराश नहुन आग्रह गर्दै त्यसको निरन्तर विस्तार हुने जानकारी दिए। “अहिलेको निर्माण पहिलो चरणको मात्रै हो। दोस्रो चरणमा यो रंगशाला अझ ठूलो आकारमा विकसित हुनेछ। राति खेल खेल्न मिल्ने सुविधा हुने, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदान बनाउने हाम्रो योजना छ,” उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले खेलकुदलाई राष्ट्रको प्रतिष्ठा र गौरवसँग जोडिएको क्षेत्रको रूपमा लिँदै यसलाई स्वच्छ, मर्यादित र दिगो विकासको बाटोमा अघि बढाउन सबै पक्षलाई आह्वान गरे।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com