काठमाडौं । गाजाको मध्य भाग दीर अल–बलाह शहरमा इजरायली हवाई आक्रमणका कारण कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु भएको छ। मृतकमध्ये आठ जना बालबालिका र दुई महिला रहेका छन्।
स्थानीय अल–अक्सा शहीद अस्पतालले दिएको जानकारीअनुसार, औषधि लिन लाइनमा उभिएका सर्वसाधारणमाथि लक्षित गरी आक्रमण गरिएको हो।
अस्पतालले सार्वजनिक गरेको भिडियोमा घाइते बालबालिका र अन्य व्यक्तिहरूको उपचार भइरहेको दृश्य देखिएको छ।
इजरायली सेनाले आक्रमणको विषयमा हाल अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ।
यससँगै बिहीबार गाजाका अन्य भागमा भएका थप आक्रमणहरूमा २६ जना प्यालेस्टिनीको ज्यान गएको बताइएको छ।
यता, गाजामा जारी हिंसा अन्त्य गर्न र बन्धकहरूलाई रिहा गर्नका लागि इजरायल र हमासबीच कतारमा वार्ता जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। युद्धविराम र मानवीय राहतका विषयमा सहमति खोज्ने प्रयास तीव्र रूपमा भइरहेको बताइएको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया