काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ । २ दिउँसो बजे बस्नेगरी कार्यपालिका बैठक तय गरिएको हो ।

प्रत्येक महिना हुनुपर्ने भएपनि महानगरको कार्यपालिका बैठक नबसेको शुक्रबार नै १९४ दिन पुगेको छ ।

advertisement

पछिल्लो पटक पुस १४ गते महानगरको १६औँ नगर सभा बसेको थियो । लामो समयदेखि बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।

पछि फेरि जेठ १४ गते १५० भन्दा बढी नगर सभा सदस्यले अनौपचारिक रूपमा बैठक बसी कार्यपालिका बैठक राख्न मेयर शाहलाई दबाब दिएका थिए । उक्त बैठकमा रास्वपाबाट निर्वाचित वडा नम्बर १६ नम्बर वडाध्यक्ष रोजिना श्रेष्ठ बाहेक अन्य अधिकांश जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट नगर सभाले पास गर्न नसके ‘बजेट होली डे’को हुनेछ । कानुनी बाध्यताले गाँजेपछि मेयर बालेन बाध्य भएर कार्यपालिका बैठक बोलाउनु पर्ने अवस्थामा पुगेको महानगरका एक जनप्रतिनिधिले टिप्पणी गरे ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादकै कारण बालेनले कार्यपालिका बोलाएका थिएनन् । अहिले पनि सरोज नै प्रमुख प्रशासकीय अधिृकत हुन् । सुरुमा उनलाई हटाएर मात्रै कार्यापालिका बोलाउने अडानमा रहेका बालेन अहिले भने उनी भएकै अवस्थामा बैठक बोलाउने अवस्थामा पुगेका हुन् ।

महानगर स्रोतका अनुसार शुक्रबार नै ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने छ । त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नै नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ भने असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतको भनाइ छ ।

 

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com