ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सरकार, युवा र महिला उद्यमीहरू मिलेर सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन २०८२ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकासमार्फत मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गरे।

advertisement

“हामीले उद्यमशीलताको प्रवर्द्धन गरेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “सरकारले महिला तथा युवा उद्यमशीलतालाई उच्च प्राथमिकता दिएको छ। यस सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षहरूले सरकारका नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्‍याउने विश्वास लिएको छु।”

प्रधानमन्त्री ओलीले महिला सशक्तिकरणलाई संविधान र व्यवहार दुबैमा सुनिश्चित गरिएको भन्दै तीनै तहका सरकारहरूमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व कायम गरिएको स्मरण गराए।

“विद्यालय तहमा पनि छात्राहरूको संख्या छात्राभन्दा बढी हुन थालेको छ, र उनीहरूको नतिजा पनि राम्रो आउन थालेको देखिन्छ,” उनले भने, “हामी अझै प्रगति हासिल गर्दै जानुपर्छ।”

प्रधानमन्त्री ओलीले यस्तो सम्मेलनले उद्यमशीलता, महिला नेतृत्व र आर्थिक समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे। “यस्ता कार्यक्रमले नीतिगत बहसलाई पनि दिशा दिन्छन्,” उनले जोड दिए।

सम्मेलनमा विभिन्न देशका प्रतिनिधि, महिला उद्यमी, नीति निर्मातालगायतको सहभागिता रहेको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com