काठमाडाैं । पोखरा महानगरपािलका –१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको सार्वजनिक सम्पत्ति निजीकरण गर्न खोजिएको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी)ले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दल्ने कारबाही गरेको छ।
विद्यालय स्वामित्वमा रहेको चर्चित पर्यटकीय गन्तव्य पातले छाँगो (डेभिड फल्स) को जग्गा निजी कम्पनीलाई ठेक्कामा दिने कार्यमा पहारी संलग्न भएको आरोप लगाउँदै अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले भ्रष्टाचारविरोधी अभियानअन्तर्गत यस्तो कदम चालेको जनाएको छ।
गण्डकी प्रदेश संयोजक राजन साउदद्वारा जारी विज्ञप्तिमा प्रधानाध्यापक डिल्लीराम शर्मा पनि सम्झौता प्रक्रियामा संलग्न रहेको उल्लेख गर्दै उनलाई तत्काल राजीनामा दिन आग्रह गरिएको छ। “बेवास्ता गरे थप कारबाही हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।
अखिल (क्रान्तिकारी)ले विद्यालयको नाममा हुने भ्रष्टाचार, निजीकरण र माफियातन्त्रविरुद्ध जनकारबाही आवश्यक भएको उल्लेख गर्दै जनताको सम्पत्ति दोहन गर्नेहरूलाई अब सजायको दिन सुरु भएको दाबी गरेको छ।
छोरेपाटन माविले पछिल्ला ४८ वर्षदेखि डेभिड फल्सको संरक्षण तथा भोगचलन गर्दै आएको थियो। तर हालै पोखरा महानगरपालिकाले सो जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएको घटनाले विवाद चुलिएको हो। अखिल (क्रान्तिकारी)ले यो निर्णयले विद्यालयको आयश्रोत गुमाउने खतरा रहेको भन्दै लगातार विरोध जनाउँदै आएको छ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया