काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष थापाले ‘श्री ५ ज्ञानेन्द्र’ लेखिएको भन्दै पाठकलाई प्रहरीको बयानमा बोलाइनु सरकारको संकीर्ण सोचको परिचायक भएको टिप्पणी गरेका छन्।

advertisement

“‘श्री ५ ज्ञानेन्द्र’ लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछका लागि बोलाउनु आश्चर्यजनक मात्र होइन, हास्यास्पद पनि हो,” उनले लेखेका छन्, “यो सत्ताको अधैर्यता र पूर्वराजाप्रति रहेको असहिष्णुताको प्रमाण हो।”

थापाले ज्ञानेन्द्र शाह अहिले पनि नेपालका राजा रहेको दाबी गर्दै ‘श्री ५’ को प्रयोग स्वाभाविक र मर्यादासम्मत रहेको तर्क गरेका छन्। “प्राविधिक रूपमा राजतन्त्र नरहे पनि ज्ञानेन्द्रपछि अरू कोही राजा छैनन्,” उनले लेखे, “त्यसैले उनलाई ‘श्री ५’ भनेर सम्बोधन गर्नु अस्वाभाविक होइन।”

काठमाडौं प्रहरी परिसरले शुक्रबार फणिराज पाठकलाई संविधानले नचिनेको ‘श्री ५ महाराजाधिराज’ लेखिएको लेटरहेडमार्फत पूर्वराजाको प्रचार गरिएको विषयमा सोधपुछका लागि बोलाएको थियो।

प्रहरीका अनुसार संविधानतः पूर्वराजालाई कुनै पनि औपचारिक उपाधि वा सरकारी हैसियत छैन, त्यसैले सो लेटरहेड प्रयोगको औचित्य स्पष्ट पार्न सोधपुछ गरिएको हो।

तर यस घटनाले पूर्वराजाको हैसियत, पदप्रति प्रयोग गरिने सम्बोधन र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी बहसलाई फेरि तातो बनाएको देखिएको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com