काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको मुद्दाको आधारमा पार्टीले पदबाट बिदा गर्न चाहेको खण्डमा आफू त्यसलाई स्वीकार गर्न तयार रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लागेको मुद्दा ‘राजनीतिक प्रतिशोध’का रूपमा आएको जिकिर गरे।
नेपालले पार्टी बनाउने आँट देखाएर कठिन परिस्थितिमा नेतृत्व लिएको स्मरण गराउँदै भने, “यदि कमिटीले मलाई मुद्दाको आधारमा बिदा गर्ने निर्णय गर्छ भने, म बिदा भएर जान तयार छु।”
उनले थपे, “मैले जीवनमा एक पैसा पनि भ्रष्टाचार गरेको छैन। कुनै डर छैन। सिधा भएर हिँडेको मान्छेलाई यस्ता प्रतिशोधपूर्ण मुद्दाले रोक्न सक्दैन।”
नेपालले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको मुद्दा संविधानविपरीत भएको दाबी गरे। “सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै ममाथि मुद्दा चलाइएको छ, जुन स्पष्ट रूपमा प्रतिशोध हो,” उनले भने।
अध्यक्ष नेपालले आफ्नो विरुद्ध राजनीतिक हिसाबकिताब मिलाउने उद्देश्यले मुद्दा दर्ता गरिएको आरोप लगाउँदै भने, “अरूलाई खाल्डो खनेर गिराउने सोच राख्नेहरू अन्ततः आफैँ त्यसमै पर्ने छन्।”
उनले अन्त्यमा पार्टी र कार्यकर्ताहरूलाई सत्य, निष्ठा र जनउत्तरदायित्वको बाटो नछाड्न आग्रह गरे।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया