काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीका लागि अबदेखि विशेष नैतिक संहिता लागू गरिएको छ। यात्रुसँगको व्यवहारलाई शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण बनाउन अध्यागमन कार्यालयले उक्त संहिता शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको हो।
अध्यागमन कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार कर्मचारीले कानुन, सामाजिक र सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बन्नुपर्ने स्पष्ट गरिएको छ। कार्यालयका अनुसार यो संहिता लागू गर्नुको उद्देश्य यात्रुले अनुभव गर्ने सेवा प्रवाहलाई छरितो, निष्पक्ष र पारदर्शी बनाउनु हो।संहिताअनुसार अध्यागमन कर्मचारीले यात्रुहरूसँग शिष्ट र आत्मीय बोली प्रयोग गर्नुपर्छ।
विदेश जाने यात्रुलाई कम्तीमा “Have a nice journey” भन्नुपर्ने, नेपाल भित्रिने यात्रुलाई “Welcome to Nepal”, “Have a nice day” भन्ने व्यवहार देखाउनुपर्ने उल्लेख छ। सोधिने प्रश्नहरू छोटो, आवश्यक र सम्मानजनक हुनुपर्ने प्रावधान राखिएको छ। विशेषगरी खाडी मुलुकतर्फ जाने श्रमिकहरूसँग शालीन र सम्मानपूर्ण शब्द प्रयोग गर्न कडाइका साथ निर्देशन दिइएको छ। संहितामा रुखो बोलिचालि नगर्नु, बोलीमा मिठास देखाउनु, अपमानजनक व्यवहार नगर्नु जस्ता स्पष्ट मापदण्ड राखिएको छ।
यात्रुको सेवा अनुभव कस्तो रह्यो भन्ने कुरा नियमन गर्न १५ वटा हेल्प डेस्कमार्फत ‘एक्जिट सर्भे प्रणाली’ लागू गरिनेछ। यात्रुहरूले ती हेल्प डेस्कमा स्वतन्त्र रूपमा कर्मचारीको व्यवहारबारे प्रतिक्रिया वा गुनासो दिन सक्नेछन्।
विगतमा त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीहरूमाथि विशेषगरी खाडी मुलुक जाने र फर्किने यात्रुसँग असभ्य व्यवहार गर्ने गुनासो बारम्बार उठ्दै आएको थियो।
देशकै प्रमुख विमानस्थल भएकाले यो स्थान ‘राष्ट्रको अनुहार’ भएको उल्लेख गर्दै अध्यागमन कार्यालयले संहितामार्फत यात्रुसँगको सम्पर्कलाई मिलनसार र सभ्य बनाउने उद्देश्य लिएको जनाएको छ।
अब कार्यान्वयनमा आएको यो संहिता यात्रु-अध्यागमन सम्बन्ध सुधार गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया