काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई भावनामा बहकिने र गलत प्रचारको पछि लाग्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन्।

शुक्रबार नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै मन्त्री सिंहले केही समूहले “देशमा केही भएको छैन” भन्ने झूटो प्रचार फैलाइरहेको उल्लेख गर्दै त्यसप्रति युवाहरूले विवेकपूर्वक विचार गर्नुपर्ने बताए।

advertisement

“देशमा केही भएन भनेर बनाइने नकारात्मक भाष्य सत्य होइन,” उनले भने, “जो जे भन्छ, त्यसलाई अन्धविश्वास गरेर पछ्याउनु हुँदैन। सत्य के हो भन्ने कुरा बुझ्नका लागि विवेक प्रयोग गर्नुपर्छ, अनुभवी अभिभावक र अग्रजहरूसँग पनि सोधेर बुझ्नुपर्छ। धेरै उपलब्धिहरू भइसकेका छन्, अझै धेरै गर्न बाँकी पनि छ।”

सिंहले विगतको तुलनामा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको धारणा राख्दै अहिले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा हासिल गर्ने अवसरहरू उपलब्ध रहेको बताए। “हामी विद्यार्थी हुँदा विषय छान्ने विकल्प कम थिए,” उनले सम्झिए, “आजको पुस्ता भने नेपालमै उच्चस्तरीय शिक्षा हासिल गर्न सक्छ। यो ठूलो उपलब्धि हो।”

उनले देश विकासको दायित्व भावी पुस्तामाथि रहेको उल्लेख गर्दै युवाहरूलाई विदेश जानुभन्दा देशमै बसेर योगदान दिन प्रेरित गरे। “देश निर्माण हाम्रो साझा जिम्मेवारी हो,” मन्त्री सिंहले भने, “पढ्नकै लागि विदेश जानुपर्ने बाध्यता अब छैन। देशमै बसेर ज्ञान, सीप र प्रतिभाको उपयोग गर्नु आजको आवश्यकता हो।”

कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै सिंहले उनीहरूलाई कडा मिहिनेत, सच्चा सोच र विवेकयुक्त निर्णयमार्फत उज्यालो भविष्य निर्माण गर्न शुभकामना दिएका थिए।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com