काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज परिवर्तनका लागि विचार शक्तिलाई सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा औँल्याएकी छन्।
शनिबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यतर्फ राष्ट्रलाई अग्रसर गराएको बताइन्।
उनले नेकपा एमालेले पनि राष्ट्रिय समृद्धिको साझा लक्ष्य हासिल गर्न जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा स्वीकार गरेको उल्लेख गरिन्। भण्डारीका अनुसार जबजको सिद्धान्तलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका बौद्धिक समुदाय र उच्च शिक्षाका क्षेत्रसम्म व्यापक रूपमा विस्तार गर्न आवश्यक छ।
भण्डारीले भनिन्, “जबज सामाजिक र आर्थिक रूपान्तरणको एउटा गहिरो र सुदृढ सिद्धान्त हो। अहिले यसका विभिन्न आयामहरूबारे अध्ययन भइरहेकाले प्रारम्भिक चरणको प्रकाशनमा सबै पक्ष समेटिन नसक्नु स्वाभाविक हो।”
उनले जबजले मार्क्सवाद–लेनिनवादको आधारमा नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र भूराजनीतिक विशेषतालाई आत्मसात गर्दै लोकतान्त्रिक प्रणाली र बहुदलीय प्रतिस्पर्धालाई समेटेर समाजवादतर्फ विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार जबज केवल राजनीतिक विचार मात्र नभएर नेपालको समृद्धि यात्राको व्यवहारिक दिशानिर्देशक हो।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार












प्रतिक्रिया