काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले आफूलाई ‘हत्यारा’ भन्नेमाथि तीव्र आलोचना गर्दै नेपालमा न्याय मरेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित दलित, थारु, आदिवासी, पिछडावर्ग र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै चौधरीले टिकापुर घटनासँग आफूको प्रत्यक्ष संलग्नता नरहेको पुनः दोहोर्‍याए।

advertisement

“म त्यो घटनाको समयमा घटनास्थलमै थिइनँ। तर आजसम्म मलाई नै ‘हत्यारा’ भनिन्छ,” चौधरीले गुनासो गरे। उनले थपे, “हामी मान्छे नमार्ने थारुहरू हत्यारा ठहरिएका छौँ, तर जो खुलेआम मान्छे मारेको स्वीकार गर्छन्, उनीहरू सरकारमै छन्, सत्तासँग छन्। न्यायको नाममा यस्तो विभेद कहिलेसम्म सहने?”

चौधरीले वर्तमान व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै भने, “देशमा न्याय मरिसकेको छ। हामीलाई मात्रै होइन, लाखौँ जनतालाई अन्याय भइरहेको छ। यस्तो अवस्थामा विद्रोह त हुन्छ, तर केका लागि? कसलाई मार्न विद्रोह गर्ने?”

आफूमाथि सामाजिक सञ्जालमा हुने लगातार गालीप्रति आक्रोश व्यक्त गर्दै उनले भने, “म बच्चाको बुबा हुँ, मसँग आमा छन्, परिवार छ। तर मलाई नै ‘बच्चा मार्ने हत्यारा’ भनेर दिनरात गाली गरिन्छ। यस्तो आरोप मेरो जीवनकै सबैभन्दा पीडादायी अनुभूति हो।”

चौधरीले आगामी चुनावमा सत्ताधारी दलहरूले विदेशमा बसेका नेपालीहरूको नागरिकता प्रयोग गरेर ‘भोटको राजनीति’ गर्न खोजेको आरोप पनि लगाए। “जनताबाट टाढा भइसकेका केही नेताहरू विदेशमा नागरिकता लिएर बसेकाहरूको भोट ल्याउने षड्यन्त्र गर्दैछन्,” उनले दाबी गरे।

उनको धारणा अनुसार, आजको नेपालको राजनीति निष्पक्ष न्यायभन्दा रणनीतिक गठबन्धन र प्रचारमा केन्द्रित बनेको छ, जसले अल्पसंख्यक र उत्पीडित समुदायको आवाज दबाउने प्रयास गरिरहेको छ।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com