काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई नेपाली भाषा, संस्कृति र पहिचानको गौरवशाली पर्वको रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।
आइतबार राजधानीमा आयोजित २१२औँ भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भानु जयन्ती केवल जन्मोत्सव मात्र नभई सम्पूर्ण नेपाली भाषाभाषीका लागि गौरव गाउने ऐतिहासिक दिन भएको स्पष्ट पारे।
सभामुख घिमिरेले भने, “भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन हो। यो पर्वले नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ। नेपालदेखि दार्जिलिङका पहाडसम्म दौरा–सुरुवाल, गुन्युचोली, नरसिंहा र झ्याम्टोको समृद्ध सांस्कृतिक स्वर एकैसाथ गुन्जिन्छ। भानुभक्तको काव्ययात्राले नेपाली भाषा र पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ।”
उनले भानुभक्तले नेपाली मनमा रामायणको भाव रोपी राष्ट्रिय एकताको सेतु निर्माण गरेको उल्लेख गर्दै भानु जयन्तीलाई भाषासँग सम्बन्धित सबैभन्दा ठूलो चाडको रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
“यो चाड भाषा, संस्कृति र पहिचानको अद्वितीय उत्सव हो,” घिमिरेले भने, “हामीले नेपाली भाषालाई अझ प्रगतिशील बनाउँदै विश्व साहित्यको गरिमायुक्त हिस्सा बनाउन प्रतिवद्ध हुनुपर्छ।”
कार्यक्रममा उनले सम्पूर्ण नेपालीहरूलाई भानुभक्तको योगदानबाट प्रेरणा लिँदै भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनतर्फ लाग्न आह्वान गरेका थिए।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया