काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूविरुद्ध पार्टीभित्र गुटबन्दी र घेराबन्दी गरिएको आरोप लगाएका छन्।
शनिबार काठमाडौं क्षेत्र नं. ५ मा आयोजित जनजागरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका केही नेताहरूले संगठनभित्र असहयोग गर्ने गतिविधि गरिरहेको बताएका हुन्। विशेषतः महामन्त्री धवल शम्शेर राणालाई लक्षित गर्दै उनले भने, “हिजोअस्ती गुट बनाएर, थर्काएर, अध्यक्षलाई घेराबन्दी गरेर हिँड्ने?”
लिङ्देनले बोलेको दिन नै महामन्त्री राणा नेतृत्वको अर्को समूहले काठमाडौंमा छुट्टै भेला गरेको थियो। उक्त भेलाले अध्यक्ष लिङ्देन पार्टी विधानअनुसार नचलेको भन्दै निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
हालै अध्यक्ष लिङ्देनले असार २५ गते पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई नियुक्त गरेका थिए। यसअघि उक्त पदमा नवराज सुवेदी थिए। सुवेदीले चैत ४ गते ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्दै राप्रपा परित्याग गरेका थिए।
भेलामा लिङ्देनले पार्टीभित्रको असन्तुष्ट पक्षलाई चुनौती दिंदै भने, “मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिनुहोस्। अहिले अल्झाउने होइन, सघाउने बेला हो।”
उनले थपे, “महाधिवेशनले मलाई अध्यक्षको म्यान्डेट दिएको हो। पार्टी विधानअनुसार अध्यक्षले मनोनयन गरेका पदाधिकारीहरू, चाहे उपाध्यक्ष हुन् वा महामन्त्री, सबै अध्यक्षलाई सघाउनका लागि हुन्। उनीहरूबाट अध्यक्षलाई बदनाम गर्ने, सञ्चार माध्यममा अनर्गल प्रचार गर्ने कामका लागि होइन।”
लिङ्देनले आफैंले मनोनीत गरेका केही पदाधिकारीहरूले नै आफूलाई घेरेको भन्दै गुनासो व्यक्त गरे। पार्टीभित्रको गुटबन्दी सार्वजनिकरूपमै देखिन थालेपछि राप्रपाको आन्तरिक राजनीति पुनः तनावपूर्ण बनेको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया