काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक अराजकताले लोकतन्त्रलाई कमजोर बनाउँदै साम्राज्यवादको सेवा गर्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित मानवअधिकार एलायन्सको २६औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले सामाजिक अराजकताले राज्य सत्तालाई धरासायी बनाउने र समग्र राष्ट्रिय विकासलाई अवरुद्ध गर्ने चेतावनी दिए।

advertisement

उनले वर्तमानको निराशामाथि उभिएर लोकप्रिय नारा र भ्रमपूर्ण सन्देशमार्फत राजनीति गर्ने प्रवृत्तिले मुलुकको भलाइ नहुने बताए। “यस्ता प्रवृत्तिले सामाजिक अराजकता फैलाउने मात्र होइन, प्रतिगमनलाई पनि सहज वातावरण बनाउँछन्,” महासचिव पोखरेलको टिप्पणी थियो।

उनका अनुसार लोकतान्त्रिक राज्य बलियो भएमा मात्र मानव अधिकारको पूर्ण सुनिश्चितता हुनसक्छ। “राज्यलाई मानव अधिकार विरोधी भन्दै प्रचार गर्नु गलत हो,” उनले भने, “लोकतान्त्रिक राज्य भनेको अधिकारको विरोधी होइन, बरु त्यसको संरक्षक हो।”

पोखरेलले अधिकार मात्र माग गरेर कर्तव्य बेवास्ता गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “राज्य कमजोर हुँदा नागरिक पनि सशक्त हुन सक्दैनन्। नागरिकलाई संविधानले दिएको अधिकार तबसम्म सुनिश्चित हुँदैन, जबसम्म राज्यको संरचना बलियो हुँदैन।”

उनले नागरिक अधिकारसँगै कर्तव्यलाई पनि जोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। “अधिकार माग्दैमा मात्रै पुग्दैन, कर्तव्य पनि बोक्न सक्नुपर्छ। मानव अधिकारको आन्दोलन पनि अधिकारसँग कर्तव्यको सन्तुलनमा आधारित हुनुपर्छ,” उनले स्पष्ट पारे।

महासचिव पोखरेलले मुलुकको समसामयिक आर्थिक परिदृश्यप्रति पनि चिन्ता व्यक्त गरे। उनले भने, “काम गर्ने उमेरका अधिकांश युवा विदेश पलायन भइरहेका छन्। यस्तो अवस्थामा देश कसरी अगाडि बढ्छ? देश बनाउने हो भने देशमै बसेर काम गर्नुपर्छ।”

उनले नेपालको श्रम बजारको संरचनामा असन्तुलन देखिएको उल्लेख गर्दै भने, “नेपालबाट काम खोज्न विदेशिनेको संख्या जति छ, त्यसभन्दा बढी अहिले भारतबाट नेपाली भूमिमा काम खोज्न आउने क्रम बढेको छ।”

नयाँ पुस्तालाई सिप र उद्यमशिलताको मूलधारसँग जोड्न नसकेको कमजोरी स्वीकार्दै पोखरेलले देश विकासका लागि सशक्त नागरिक, सक्षम राज्य र स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com