काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल रहेको बताए पनि केही विरोधी र अराजक समूहले भ्रम सिर्जना गर्दै ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने झूटो प्रचार गरेको आरोप लगाएका छन्।

शनिबार झापाको दमक नगरपालिका–१० मा आयोजित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन समारोहमा बोल्दै उनले यस्ता प्रचारप्रति प्रतिक्रिया दिनु आवश्यक नरहेको बताए।

advertisement

विश्व बैंकको सहयोगमा निर्माण सम्पन्न भएको ४.८६ किलोमिटर लामो उक्त सडक ४४ करोड २४ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो। प्रधानमन्त्री ओलीले यो सडक नेपालभरका १७ उत्कृष्ट सडकमध्ये छानिएको नमूना आयोजना भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले यो आयोजनालाई विकास निर्माणको लहरकै एउटा हिस्सा भएको उल्लेख गर्दै मेचीदेखि महाकालीसम्म विकास अभियानलाई सरकारद्वारा तीव्र बनाइएको दाबी गरे। उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माणको घोषणा समेत गरे।

उनले यसै वर्षदेखि स्वयंसेवी प्रयासमा सञ्चालन गरिएको निःशुल्क अनलाइन कक्षाले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा १३ प्रतिशत सुधार ल्याएको पनि दोहोर्‍याए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राई, उद्वव थापा लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com