काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारका मन्त्रीहरूमाथि सार्वजनिक भएका घुस प्रकरणप्रति गम्भीर प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद दुर्गा राईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुस ‘डिल’ सम्बन्धी अडियो सार्वजनिक भएपछि सरकार मौन बस्न नहुने स्पष्ट पारिन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विगतको भनाइ उद्धृत गर्दै भनिन्, “सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, म घुस खाँदिन, अरूलाई पनि खान दिन्न। तर अहिले मन्त्रीहरूकै डिल बाहिरिँदा त्यो कुरा के केवल भाषणमै सीमित हो त?”
सांसद राईका अनुसार यो प्रकरण केवल एक मन्त्रीको मात्र नभई सिङ्गो मन्त्रिपरिषद् र प्रधानमन्त्रीको नैतिक जिम्मेवारीको विषय हो। उनले भनिन्, “कुनै पनि मन्त्री विवादमा मुछिए भने त्यो विषय सम्बन्धित मन्त्री र प्रधानमन्त्री दुवैको हो। यसमा सरकारले गम्भीरता देखाउनु पर्दैन?”
उनले सामान्य प्रशासन मन्त्रीसम्बन्धी अघिल्ला घटनाहरूको पनि स्मरण गर्दै भनिन्, “पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवामा समेत घुसको डिलको कुरा बारम्बार उठेको छ। मिडियामा समाचार आइरहँदा प्रधानमन्त्री चुप बस्ने हो त?”
राईले प्रधानमन्त्रीलाई सीधा प्रश्न गर्दै भनिन्, “मन्त्रीहरूकै डिलहरू बाहिरिएकापछि सरकारले कारबाही गर्नुपर्छ कि पर्दैन? सरकारका मन्त्रीहरूले नैतिकता देखाउने त परै जाओस्, जनतामाझ लाज नमानेको अवस्था छ।”
मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोकिने र भूमिसुधार मन्त्री आफैँ भूमि आयोग कास्कीका उपाध्यक्ष नियुक्तिमा जोडिएको प्रसङ्ग उल्लेख गर्दै सांसद राईले प्रधानमन्त्री ओली स्वयंले संसदमा आएर जवाफ दिनुपर्ने माग गरिन्। उनले सभामुख समक्ष प्रधानमन्त्रीलाई जवाफदेही बनाउन निर्देशन दिन रुलिङको माग समेत गरिन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया