काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद्को गठन र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै संघीय सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले सरकारभित्र गम्भीर अनियमितता र सिण्डिकेट शैलीमा निर्णय भइरहेको आरोप लगाइन्।
उनले भनिन्, “मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउने भन्नेमा सेटिङ, भूमि आयोगका जिल्लास्तरीय अध्यक्ष नियुक्तिमा सेटिङ, भूमि विधेयक किन फास्ट ट्र्याक गर्न खोजिएको हो?”
श्रेष्ठले मन्त्रीहरूबीचको आपसी दोषारोपणलाई पनि उदाहरणस्वरूप प्रस्तुत गर्दै भनिन्, “एउटा मन्त्रीले अर्को मन्त्रीको नाम लिएको छ — त्यसको छानबिन हुनुपर्छ। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन? सम्बन्धित ठाउँ कुन हो? ‘बा’ भनेर अडियोमा बोलिएको पात्र को हो?”
उनको मन्तव्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि आएको हो। अडियोलाई लिएर संसद्मै प्रश्न उठेका छन्। श्रेष्ठले अघिल्ला अडियो काण्ड पनि जनताले बिर्सेका छैनन् भन्दै भनिन्, “दुई तिहाइको सुशासन भनेको के यही हो? आफ्नोलाई चैन, अरुलाई ऐन नै ऐन?”
उनले शासनशैलीमा मुलभूत सुधार नभएको आरोप लगाउँदै प्रश्न गरिन् — “के फरक भयो त यी वर्षहरूमा? जनताले के पाए? यो दुई तिहाइको अर्थ भागबण्डा हो कि सुधारको संकल्प?”
सांसद श्रेष्ठको प्रश्नहरू शासकीय पारदर्शिता र जवाफदेहिताको विषयमा बहस उठाउने संकेतको रूपमा हेरिएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया