काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र)प्रति तीव्र आलोचना गरेका छन्। आइतबार झापाको बिर्तामोडमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय आफूमाथि फैलाइएका आरोप र अफवाहहरूको प्रतिवाद गरे।
प्रधानमन्त्री ओलीले आफू कुनै पनि गैरकानुनी, अनैतिक वा भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको स्पष्ट पार्दै भने, “म रास्वपा होइन, म माओवादी पनि होइन। आफैंले बोलेको कुराको जवाफ दिनुपर्छ।”
उनले सहकारी घोटालामा संलग्न रहेकाहरू नै ‘अन्याय भयो’ भन्दै हस्ताक्षर संकलनमा निस्केको आरोप लगाए। “हामीले कुनै अन्याय गरेका होइनौं, अदालतको आदेशमा थुनामा परेका हुन्। यदि अदालतको आदेशमा चित्त बुझेको छैन भने पुनरावेदनमा जान सकिन्छ,” प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा ओलीले प्रतिपक्षी दलका नेताहरूलाई लक्षित गर्दै भने, “भीरमा भैँसी चराउन नजानेहरूले सरकार चलाउन नजान्ने भनेर हल्ला फैलाइरहेका छन्।”
हालैको स्पेन भ्रमणको विषयमा संसदमा उठेको बहसप्रति असन्तुष्टि जनाउँदै उनले पत्रकारहरूप्रति पनि कटाक्ष गरे। “पत्रकारहरू आफैं बोल्छन् अनि प्रधानमन्त्रीलाई जवाफ दे भन्न रुचाउँछन्, लाज सरम छैन?” उनले टिप्पणी गरे।
ओलीले आफू नेतृत्वविहीन एमाले हेर्न चाहनेहरूलाई अझै दुई दशक पर्खन सुझाव दिए। “म अहिले बल्ल ७४ वर्ष पुग्दैछु। केपी ओली बिना एमाले हेर्न मन लागेको छ भने २४/२५ वर्ष पर्खनुहोस्,” उनले ठट्यौलो शैलीमा भने।
प्रधानमन्त्री ओलीको भाषणले सत्ता–विपक्षबीचको सम्बन्ध झनै तिक्त हुँदै गएको सन्देश दिएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया