काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चुलिंदो आन्तरिक विवादबीच केन्द्रीय सदस्य खुस्बु ओलीले वरिष्ठ नेता नवराज सुवेदीको नैतिकता र राजनीतिक अडानमाथि गम्भीर प्रश्न उठाएकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले सुवेदीले अघिल्लो चरणमा पार्टीका सबै पद त्यागेको घोषणा गरिसकेका व्यक्तिले पुनः अनुशासन समितिको संयोजक पदमा दाबी गर्नु आश्चर्यजनक मात्र नभई विधानविपरीत पनि भएको दाबी गरिन्।
‘आफैंले सार्वजनिक रूपमा पार्टीका सबै पदबाट अलग भएको घोषणा गरेका व्यक्ति फेरी त्यही पदमा दाबी गर्नु कसरी सम्भव हुन्छ?’ खुस्बु ओलीले लेखेकी छन्, ‘राजसंस्थाको पक्षमा आन्दोलनको घोषणा गरेलगत्तै सुवेदीले आफू राप्रपाको कुनै पदमा नरहेको, साधारण सदस्यसमेत नरहेको प्रस्ट पारिसक्नुभएको थियो। त्यसपछि उहाँले सम्हाल्दै आएको अनुशासन समिति स्वभावतः रिक्त रहन पुग्यो।’
उनका अनुसार सुवेदी हाल राप्रपा बाहिरको ‘जनआन्दोलन समिति’ को संयोजकको भूमिकामा सक्रिय छन् र ‘आन्दोलन सकिएको छैन’ भन्दै हिँडिरहेको अवस्थामा पार्टीभित्र पुनः दाबी गर्नु नैतिक र वैधानिक दुवै हिसाबले असंगत भएको तर्क छ।
खुस्बुले पार्टी विधान अनुसार केन्द्रीय कार्यसमितिको लगातार तीन बैठकमा बिना जानकारी अनुपस्थित रहने पदाधिकारी स्वतः पदमुक्त हुने प्रावधान रहेको स्मरण गराउँदै त्यो नियम सुवेदीमाथि पनि लागू हुने स्पष्ट पारिन्।
उनको दाबी अनुसार सुवेदीको पद त्यागसँगै खाली भएको अनुशासन समितिको संयोजकमा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा रोशन कार्कीको नियुक्ति विधानसम्मत, वैधानिक र स्वाभाविक प्रक्रिया हो।
यससँगै खुस्बुले पार्टीभित्र अनुशासन र स्पष्ट नेतृत्व आवश्यक रहेको संकेत दिँदै अन्य नेताहरूलाई पनि आत्ममन्थन गर्न सुझाव दिएकी छन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया