काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विकासप्रति प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका छन्। सोमबार प्रतिनिधिसभामा बोल्दै उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सरकार उदासीन रहेको आरोप लगाए।
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रंगशालामा फ्लडलाइट जडानका लागि ठेक्का सम्झौता भइसकेको स्मरण गराउँदै अहिलेको सरकार बनेपछि ३०० दिनभित्र फ्लडलाइट र प्याराफिट निर्माण गरिने घोषणा गरिएको बताए। “तर आज ३६५ दिन बित्दा पनि न फ्लडलाइट जोडिएको छ, न त प्याराफिट बनेको छ,” उनले भने।
प्रचण्डले सरकारको घोषणालाई प्रचारमुखी र कार्यान्वयनविहीन भन्दै राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरवाही दोहोरिएको प्रति चिन्ता व्यक्त गरे। “योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर योजनावद्ध ढंगले काम अघि बढाउने इच्छाशक्ति सरकारले देखाएको छैन,” उनले टिप्पणी गरे।
उनले रंगशालाप्रति जनताको अपेक्षा उच्च रहेको भन्दै सरकारलाई घोषणाभन्दा व्यवहारमा केन्द्रित हुन आग्रह गरे।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया