काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक पारित गर्नु बाहेक कुनै पनि ठोस कार्य गर्न नसकेको टिप्पणी गरेका छन्।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले, “सरकारले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न टीआरसी विधेयक पास गर्नु सकारात्मक हो। त्यो कार्यका लागि धन्यवाद दिन चाहन्छु,” भने।
तर, सरकारकै क्याबिनेटमा रहेका मन्त्रीहरू खुलेआम घूसको डिलिङमा मुछिएको अडियो र भिडियो सार्वजनिक हुँदा पनि प्रधानमन्त्रीको चुप्पीप्रति उनले गम्भीर आपत्ति जनाए।
“मन्त्रीहरूकै भ्रष्टाचारको प्रमाण सार्वजनिक हुँदा समेत कुनै कारबाही नहुनु लाजमर्दो हो। देशकै बेइज्जत भइरहेको छ,” प्रचण्डले भने, “सरकार आफैं सुशासन आयोगको अध्यक्ष भइकन पनि आफ्ना मन्त्रीमाथि कारबाही गर्न नसक्नु भनेको अत्यन्तै कमजोर, लाचार र निरीह सरकारको उदाहरण हो।”
उनले संक्रमणकालीन न्याय टुंग्याउने विषयमा सरकारसँग कुनै गुप्त सहमति वा साँठगाँठ नरहेको स्पष्ट पार्दै भने, “यो हाम्रो आन्दोलनको मुख्य एजेन्डा हो, त्यसमा सम्झौता गर्ने ठाउँ छैन।”
अध्यक्ष प्रचण्डले सुशासन र पारदर्शिता कायम गर्न सरकार पूर्ण असफल भएको र जनतामा निराशा थपिएको धारणा व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया