काठमाडौं । बेलायतको लर्ड्समा सम्पन्न पाँच खेलको टेस्ट शृंखला अन्तर्गत तेस्रो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई २२ रनले पराजित गरेको छ। यो जितसँगै इङ्ग्ल्याण्डले शृंखलामा २(१ को अग्रता लिएको छ। घरेलु टोलीले १९३ रनको लक्ष्य दिएकोमा भारत १७० रनमा अलआउट हुन पुग्यो।
पहिलो इनिङ्समा टस जितेर ब्याटिङ रोजेको इङ्ग्ल्याण्डले १० विकेटको क्षतिमा ३८७ रन बनाएको थियो। इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १०४ रन बनाए भने जेमी स्मिथले ५१ र ब्रायडन कार्सले ५६ रनको योगदान दिए। जवाफमा भारतले पनि पहिलो इनिङ्समा ३८७ रन नै बनायो। भारतका लागि केएल राहुलले १०० रनको शतकीय पारी खेले, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन जोडे।
दोस्रो इनिङ्समा इङ्ग्ल्याण्डले १९२ रन बनाएर भारतलाई १९३ रनको विजयी लक्ष्य दिएको थियो। तर, भारतले उक्त लक्ष्य पूरा गर्न सकेन र १७० रनमै अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ६१ रन बनाए भने राहुल ३९ रनमा आउट भए। इङ्ग्ल्याण्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३(३ विकेट लिएर भारतलाई रोक्न महत्वपूर्ण भूमिका खेले।
खेलको पाँचौं दिन भारतलाई जितका लागि १३५ रन आवश्यक थियो र उनीहरूको ६ विकेट बाँकी थियो। तर, भारतले थप ११२ रन मात्र जोड्न सक्यो र सबै विकेट गुमायो। इङ्ग्ल्याण्डका बेन स्टोक्स प्लेयर अफ द म्याच घोषित भए।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया