काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ले आफ्ना संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीको जिम्मेवारीमा फर्कन चाहेपछि आन्दोलनलाई नयाँ स्वरूपमा अघि बढाउने घोषणा गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुवेदीको बहिर्गमनपछिको परिस्थितिलाई सम्बोधन गर्दै आन्दोलनलाई ‘साझा स्वतन्त्र नागरिक आन्दोलन’का रूपमा विकास गरिने उल्लेख छ।

सुवेदीको निर्णयपछि आन्दोलनले अब स्वतन्त्र संयोजनकारी भूमिकाको खोजी गर्ने जनाएको छ। ‘आन्दोलनले साझा स्वतन्त्र नागरिक आन्दोलनको स्वरूप धारण गर्नैपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘किनकि राजसंस्था पुनर्स्थापना हुँदा राजा चाहनेहरूका लागि मात्र होइन, राजाविरोधी विचार राख्नेहरूका लागि पनि राजालाई सबैका साझा नै बनाउने हो।’

advertisement

समितिले आन्दोलन नरोकिएको स्पष्ट पार्दै नयाँ चरणको तयारी भइरहेको जानकारी दिएको छ। विभिन्न दल, अभियान र संघसंस्थाहरूसँग संवाद जारी रहेको र चाँडै नै पत्रकार सम्मेलनमार्फत साझा स्वतन्त्र नागरिक आन्दोलनको घोषणा गरिने बताइएको छ। समितिले विकासक्षेत्र, अञ्चल, जिल्ला, पालिका, वडा र टोल तहसम्मका समितिहरूबारे पनि जानकारी दिने योजना बनाएको छ।

विज्ञप्तिमा सरकारमाथि गम्भीर आरोपसमेत लगाइएको छ। सरकारले शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने र विगतमा जस्तै गोली चलाएर आन्दोलनकारीको हत्या गर्ने षडयन्त्र गरिरहेको सूचना प्राप्त भएको समितिले दाबी गरेको छ। यस्तो सम्भावित दमनलाई ध्यानमा राख्दै आन्दोलनलाई ‘नयाँ प्रविधि, सिर्जनशील प्रकृति र शान्तिपूर्ण तर छेक्नै नसक्ने’ गरी अघि बढाइने उल्लेख छ।

समितिले देशको अस्तित्व रक्षाका लागि राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको  जिकिर गरेको छ।

IMG_2220IMG_2221

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com