लुइसियाना । लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन्। लुइसियाना स्टेट पुलिसले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
दुर्घटनामा निधन हुनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। उनीहरूद्वय गत जुलाई १३ तारिखका दिन यूएस हाइवे ८० मा यात्रा गरिरहेका बेला कार दुर्घटनामा परेका हुन्।
पुलिसका अनुसार भारी वर्षा भइरहेका बेला यादवले चलाएको होन्डा अकर्ड कार सडकबाट अनियन्त्रित भएर रुखमा ठोक्किएको र त्यसपछि आगलागी भएको थियो। गाडीमा रहेका यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो। उनीहरूले सिटबेल्ट लगाएका थिए वा थिएनन् भन्नेबारे भने पुष्टि हुन बाँकी छ।
दुर्घटनामा कारमा सवार अन्य दुई विद्यार्थी घाइते भएका छन् र हाल उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले टक्सिकोलोजी परीक्षणका लागि नमुना सङ्कलन गरिसकेको जानकारी दिएको छ।
लुइसियाना टेक युनिभर्सिटीले जुलाई १४ मा एक विज्ञप्ति जारी गर्दै यस घटनाले गहिरो शोक परेको जनाएको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत विद्यार्थीको निधनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया