काठमाडौं । घुस प्रकरणको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि राप्रपाका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले थप कडा कारबाहीको माग गरेका छन्। उनले राजीनामाले मात्रै नपुग्ने भन्दै मन्त्रीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न आग्रह गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमाथि भ्रष्टाचारको संरक्षण गरेको गम्भीर आरोप लगाए। उनले व्यङ्ग्य गर्दै भने, “पहिले भनिन्थ्यो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू, अब भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू।”

advertisement

शाहीको उक्त टिप्पणीप्रति एमाले प्रमुख सचेतक सुनिता बरालले आपत्ति जनाउँदै नियमविपरीतको अभिव्यक्ति भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरिन्। उनले प्रधानमन्त्री र सरकारप्रति तथ्यहीन आरोप लगाइएको भन्दै गम्भीर आपत्ति जनाइन्।

सभामुख देवराज घिमिरेले दुवै पक्षको भनाइप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै नियमावलीअनुसार आवश्यक निर्णय गरिने बताए।

यसैबीच, भिजिट भिसा प्रकरण र घुस अडिओ प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com