काठमाडौं । सत्तारुढ दलका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले पछिल्लो समय अपनाउँदै आएको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनीहरूले धारणा राखेर तत्काल सदन बहिष्कार गर्ने प्रवृत्तिलाई आलोचना गरेका हुन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपक गिरीले, “सदनमा आएर बोल्ने अनि त्यसपछि बहिष्कार गर्ने शैली राजनीतिक नौटंकीजस्तै देखिन्छ,” भन्दै ती दलका सांसदहरूलाई सदनबाहिर आन्दोलन गर्न सुझाव दिए।
गिरीले बैठकको सुरुआतमा साना दलहरूलाई बोल्न दिइएर प्रमुख दलहरूलाई मौका नदिइएकोप्रति पनि असन्तुष्टि जनाए। “संसद् चलाउने अनुशासन र प्राथमिकताको ख्याल राख्न जरुरी छ,” उनले भने।
त्यस्तै, नेकपा (एमाले) की सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिको गल्तीका आधारमा सम्पूर्ण सरकारलाई लाञ्छना लगाउनु अन्यायपूर्ण रहेको बताइन्। “केही सांसद मिडियामा देखिनकै लागि संसदमा अनावश्यक विषय उठाइरहेका छन्,” भन्दै उनले आलोचना गरिन्।
बैठकको शून्य समयमा समेत सत्तारुढ सांसदहरूले धारणा राखेपछि तत्काल बहिष्कार गर्ने कार्यलाई अव्यवस्थित र संसदको मर्यादाविपरीत बताएका थिए।
सत्तारुढ दलहरूको तर्फबाट आएको यस्ता टिप्पणीहरू रास्वपा र राप्रपाले संसदभित्र जारी राखेको दबाबमूलक रणनीतिको प्रतिउत्तरका रूपमा आएको देखिन्छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया