काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले वर्तमान सरकारले गरेका कामको प्रतिपक्षी दलहरूले चुनौती दिन नसकेर जनतामा गलत सन्देश फैलाइरहेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै गिरीले विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सम्पन्न स्पेन भ्रमणलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको बताए।
“विकास निर्माणको मोर्चामा सरकारले गरेका कामलाई असफल भन्न नसकेपछि केही दलहरूले भ्रमको खेती गर्न थालेका छन्,” गिरीले भने, “प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको २१ सदस्यीय उच्चस्तरीय टोली पूर्णरूपमा नेपाल फर्किएको छ, तर ‘मान्छे विदेश लुके’ भन्ने जस्ता भ्रामक कुरा प्रचार गरिँदैछ।”
उनले यसअघि विभिन्न सरकारको पालामा विदेश गएका र फर्किन नसकेका व्यक्तिको जिम्मेवारी वर्तमान सरकारले लिन नसक्ने स्पष्ट पारे। “अघिल्लो सरकारका पालामा को–को विदेश गयो, को फर्किएन भन्ने कुराको जिम्मा अहिलेको सरकारले कसरी लिने?” उनले प्रश्न गरे।
सांसद गिरीले सरकारका सकारात्मक कार्यहरूलाई छायाँमा पार्न र जनतालाई अन्योलमा राख्न नियोजित ढंगले भ्रम फैलाइएको आरोप लगाए।
“हाम्रा कामहरू ओझेलमा पार्ने र जनमत दिशाविहीन बनाउने प्रयास भइरहेको छ, म सदनमार्फत यसको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” गिरीले भने।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया