काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधिसभा सांसद प्रतिमा गौतमले अपराधमा संलग्न व्यक्तिहरूले अदालतलाई प्रभावमा पार्ने उद्देश्यले हस्ताक्षर अभियान चलाएको आरोप लगाएकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्लो समय ठगी, बेइमानी, चोरीजस्ता अपराधमा संलग्न व्यक्तिहरूले न्यायालयलाई प्रभावित पार्ने शैलीमा हस्ताक्षर संकलन अभियान चलाइरहेको दृश्य देखिएको भन्दै गम्भीर आपत्ति जनाइन्।
“अब त अपराध गरेपछि पनि हस्ताक्षर अभियान चलाएर अदालतलाई प्रभावमा पार्न खोज्ने प्रवृत्ति बढेको छ,” उनले भनिन्, “यस्ता नक्कली र योजनाबद्ध अभियान लोकतन्त्रकै अपमान हुन्।”
गौतमले स्पष्ट रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै प्रश्न गरिन्, “अब प्रश्न उठ्नैपर्छ — रास्वपाको एजेन्डा के हो? जनताको सेवा? कि नाटक, षड्यन्त्र र चन्दा संकलन?”
उनको भनाइमा, रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथिको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियान नाटकभन्दा बढी केही होइन।
सांसद गौतमले थप भनिन्, “राजनीति अब विचार र सिद्धान्तको हैन, अभिनय र आडम्बरको केन्द्र बन्न थालेको छ। आँशु, आरोप र अभिनय तयार छन्, नाटकको निर्देशन सांसद आफैंले गरेका छन्। जेलभित्रबाट क्युआर कोड पठाएर हस्ताक्षर संकलनको नाममा चन्दा उठाउने ‘राजनीतिक नवविचार’ के हो?”
उनले यस्ता शैलीले लोकतन्त्रको मूल्य, नैतिकता र जनताको विश्वासमाथि गम्भीर चोट पुर्याएको टिप्पणी गरिन्।
फरक प्रसंगमा बोल्दै गौतमले आगामी दिनमा भारी वर्षाका कारण करिब २० लाख नागरिक प्रभावित हुने पूर्वानुमान रहे पनि सरकारले आवश्यक तयारी नगरेको आरोप लगाइन्।
उनले कृषिक्षेत्रमा मल अभाव, गुणस्तरीय बीउको संकट, र बजार व्यवस्थापनको अनिश्चितता अझै कायम रहेकोप्रति पनि ध्यानाकर्षण गराएकी थिइन्।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार












प्रतिक्रिया